हङकङको पिकमा नपुगी जब म एम्बुलेन्समा अस्पताल पुगें

ब्लग

अत्याधिक गर्मी हुँदाहुँदै नेपाली महावाणिज्यदूतावास र एनआरएनए हङकङले संयुक्त रुपमा हङकङमा गत आइतबार ‘एभरेस्ट हाइक डे २०१८’ आयोजना गरे। जसमा करिब २५० व्यक्ति सहभागी थिए। हङकङमा हरेक वर्ष सगरमाथा दिवस मनाउन थालिएको छ। र, त्यो दिन हाइकिङ आयोजना गरिन्छ।

यो हाइकिङमा सहभागी हुन पाउँदा धेरै व्यक्ति उत्साहित थिए। हङकङको सेन्ट्रलदेखि पिकसम्मको हाइकिङमा कूटनीतिज्ञ, सरकारी अधिकारी, व्यवसायी र सर्वसाधारण सहभागी थिए। यो पदमार्ग खास लामो छैन। सर्वसाधारण पिकसम्म करिब २ घण्टामा पुग्छन् भने व्यवसायिक हाइकरहरु एक घण्टामा पुग्ने गर्छन्।

एभरेस्ट हाइकिङ कार्यक्रमको आयोजक सदस्यमध्ये म पनि एक थिएँ। एक महिनाभन्दा बढीको तयारीपछि यो हाइकिङ गरिएको थियो। केही कामको जिम्मा मलाई दिइएको थियो। म र मेरो साथी केएमबी बसमा यूएन लङबाट सेन्ट्रलसम्म गयौँ। बिहान करिब ८ बजेतिर हामी एआइए सेन्ट्रल पार्क पुग्यौँ। नाम दर्ता कार्यमा सघाउने मेरो जिम्मा थियो। एक टेबल र कुर्सी तयार गरिएको थियो तर दुर्भाग्यवश कुर्सी र टेबल घामतर्फ फर्केको थियो। बिहान ८ देखि ९ बजेसम्म हामी त्यहाँ ३४ डिग्री सेल्सियस तापक्रममा रहयौँ। कामको चापमा मैले पर्याप्त पानी पिउनै बिर्सिएँ।

अन्ततः एआइए सेन्ट्रलको काम सकियो र हामीले पिकतर्फको हाइकिङ सवा ९ बजे सुरु गर्यौं। प्राथमिक उपचारको जिम्मेवारी मेरो थियो। सेन्ट्रलदेखि पिकसम्मको पदमार्गमा झण्डै २०–२५ मिनेटसम्म साँघुरो खुड्किलोमा हिँड्नुपर्ने हुन्छ। भीडभाडयुक्त हुनाले त्यहाँ राम्ररी हावा पनि आउँदैन। सो क्षेत्रका होटल, रेष्टुरेन्ट र बारबाट निस्केका अनेक ग्यासका कारण मलाई स्वास लिन असहज भयो। त्यसमाथि यस्तो गर्मीमा डिहाइड्रेसन हुनु स्वभाविक थियो। करिब २५ मिनेट हिँडेपछि वास्तविक पदमार्ग सुरु भयो।

एक सहभागी भनिरहेका थिए, ‘यति गर्मी छ र हाइकिङका लागि आयोजकले रोजेको मार्ग ठीक छैन।’

हाइकिङको बीचमै मलाई आमाले फोन गरेर पर्याप्त पानी पिउन सम्झाउनुभयो। गर्मीका कारण उहाँ चिन्तित हुनुहुन्थ्यो। मैले पर्याप्त पानी पिउने उहाँलाई बताएँ।

अन्ततः दुई घण्टापछि हाइकिङ टोली पिकमा पुग्न सफल भयो। तर म अन्तिम विन्दुमा पुग्न सकिनँ। त्यसपछि म पिकबाट सेन्ट्रल जाने बस चढेँ। बसमा पनि मलाई साह्रै असजिलो भयो। मैले झोलाबाट चकलेट र पानीको बोतल निकालेँ। पानीसँग मैले चकलेट खाएँ। चाइनिज युनिभर्सिटी अफ हङकङमा मौखिक प्रस्तुतिमा उत्कृष्ट भइ पुरस्कृत भएपछि मिलन गुरुङ दाइले त्यो चकलेट उपहारमा दिनुभएको थियो।

हङकङमा हाइकिङ, क्याम्पिङजस्ता घरबाहिरका क्रियाकलाप नेपलीहरुमाझ पनि लोकप्रिय हुँदै गएको छ। स्वस्थ रहन कसरत तथा शारीरिक क्रियाकलाप गर्ने सल्लाह दिइन्छ। यद्यपि बिरामीहरुले यस्तो क्रियाकलाप गर्नुअघि चिकित्सकबाट सल्लाह लिन आवश्यक छ। त्यसैगरी यस्ता क्रियाकलापका जोखिम तथा दुर्घटनाबारे हामीले गम्भीर रुपमा सोच्न जरुरी छ।

केही दिनअघि यस्तै क्याम्पिङमा सहभागी एक नेपाली युवाको मृत्यु भयो। उनले साइ कुङको दहमा डुबेर ज्यान गुमाए। एससिएमपीका अनुसार गत आइतबार एक व्यक्ति साइ कुङमा लु का कारण बेहोस भएका थिए। यसैवर्षको अप्रिलमा एक ७१ वर्षीय व्यक्तिको पनि मृत्यु भएको थियो। त्यसबाहेक हाइकिङसम्बन्धी दुर्घटनाहरुबाट पनि मानिसको ज्यान जाने गरेको छ। २०१७ मा यसरी पाँच व्यक्तिको मृत्यु भएको थियो भने २०१६ मा चार जना। आवश्यक तयारीको कमी, अत्याधिक गर्मी र थकान यसरी ज्यान जानुको मुख्य कारण हो।

ट्रेन चढ्नेबित्तिकै मलाई स्वास लिन गाह्रो भयो। ट्रेनमा खान वा पिउन पाइँदैन भन्ने मलाई थाहा थियो तर मैले फेरि पानी पिएँ। बेहोस हुँलाजस्तो भयो। भाग्यवश मलाई साथीले घरसम्म पुर्याइदिए। ट्रेनबाट ओर्लेर म सोझै घर गएँ र ओच्छ्यानमा पल्टिएँ। तर वाक्वाकी आउलाजस्तो भयो। नभन्दै मैले तीन पटक वान्ता गरेँ। त्यसबेला रक्तचाप पनि जाँचे। केही कम थियो।

यद्यपि भयंकर टाउको दुःखाइ र निरन्तर वाक्वाकीका कारण मैले कमजोरी महसुस गरेँ। त्यसैले बहिनीलाई एम्बुलेन्स बोलाउन भनें। एम्बुलेन्स आइपुग्यो र उनीहरुले मेरो मुखमा अक्सिजन मास्क लगाउन थाले। साँझ ७ बजे इन्डियन क्लबमा मैले स्वास्थ्यसम्बन्धी एक कार्यक्रम गर्नुपर्ने थियो। तर त्यो छोडेर म अस्पताल भर्ना हुनुपरिरहेको थियो। मैले आयोजकलाई यसबारे खबर गरेँ र बिरामी भएको जानकारी गराएँ। उनीहरुले मेरो कुरा बुझे।

म १२ बजेसम्म अस्पतालमा रहेँ। चिकित्सकले केही दबाइ दिए र आराम गर्न सल्लाह दिए। उनले ममा लूको लक्षण देखिएको बताए।

यस्तो गर्मी मौसममा हामीले हाइकिङ गर्नु हुँदैन। हाइकिङसम्बन्धी दुर्घटनाहरुलाई टार्न पूर्व सावधानी अपनाउनुपर्छ। आयोजकहरुले हाइकिङजस्ता गतिविधि गर्नुअघि सम्पूर्ण तयारी पूरा गर्नुपर्छ। हाइकरलाई पर्याप्त पानी पिउन सल्लाह दिनुपर्छ। आपत्कालीन उद्दारकर्ताहरुको सम्पर्क नम्बर र जानकारी तयार राख्नुपर्छ। एक्लै हाइकिङमा निस्किनु हुँदैन। स्वास्थ्यकर्मीको सहयोग लिनु पर्दछ।

आखिर उपचार गर्नुभन्दा रोकथाम गर्नु नै जाती हुन्छ।

तस्बिरहरूः देवमान लिम्बू
नेपाल खबर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *