परिवर्तनले नछोएको मुस्लिम समुदाय

प्रवास समाचार

करिम बक्स मियाँ

म सानै थिएँ गाउँमा मस्जिद निर्माणको काम चल्दै थियो। गाउँका बुढापाकाहरु निर्माण कार्यमा जुट्दै थिए। अचानक प्रहरीको गाडी आयो, मस्जिद भत्काएर गाउँका बुढापाकाहरुलाई पक्रेर थानामा लग्यो।
गाउँमा एकप्रकारको भय व्याप्त थियो, सबै त्रसित थिए, अब के होला? हामीलाई त्यसको अर्थै थाहा थिएन, किन सबैलाई पक्रेर लग्यो होला?

हामी बचपनमा चोर पुलिसको खेल खेल्थ्यौं। चोर भनेको नराम्रो मान्छे अनि पुलिस भनेको राम्रो। पुलिसले चोरलाई समात्छ र जेल हाल्दिन्छ। यस्तै मानसिकतामा हामी चोर पुलिसको खेल खेल्थ्यौं। हामीलाई लाग्यो हाम्रा बाऊहरु पक्कै चोर हुन् र त पुलिसले समातेर लग्यो।

अर्को दिन हाम्रा बाऊहरु घर आए सबै निन्याउरा देखिएका, डराएका। गाउँमा राती बाऊहरुको छलफल चल्यो हाम्लाई त्यसको परवाह  नै थिएन। हामीलाई लाग्यो हाम्रा बाऊहरु चोर नै हुन्, नत्र पुलिसले किन पक्र्यो, हाम्रो बच्चा बुद्दीले यस्तै सोच्यो।

अर्को दिन फेरि बाऊहरु मस्जिद बनाउन लागे, तर आधा बाऊहरु घरमै बसे। हाम्लाई त्यसको नि के मतलव? पुलिस फेरि आयो मस्जिद भत्कायो र उनीहरुलाई लग्यो। घरमा बसेका बाऊहरु आए र मस्जिदको गाह्रो लगाउन थाले।
मलाई याद छ धेरै दिन चोर पुलिसको खेल चल्यो। खै पछी के भयो पुलिसहरु आउन छाडे र मस्जिद बन्न रोकिएन।
केही महिनामा एउटा सुन्दर मस्जिद तयार भयो। बाऊहरुले सबैलाई बोलाएर भोज खुवाए।

समय क्रम चल्दै गयो हामी हुर्कँदै गयौं। हाम्रो बुद्दीमा चेतनाको बिकास हुँदै गयो र हामीलाई थाहा भयो। पन्चायतमा मस्जिद बनाउनु अपराध मानिंदो रहेछ। मस्जिद बनाउने अपराध गरिकाले हाम्रा बाऊहरुलाई पुलिसले पक्रेको रहेछ।
आज म चालीस काटी सकेको छु। मभित्र राजनैतिक चेतना अथाह छ। हामीलाई विभिन्न आन्दोलन र परिवर्तनको वास्तविकता बारे ज्ञान छ।
प्रजातन्त्रको आन्दोलन होस् वा लोकतन्त्रको, गणतन्त्र होस कि संघीयता, जनताले किन वर्षौंदेखि आन्दोलन गरे त्यो सब थाहा छ।
जनताको लामो संघर्ष र परिवर्तनको लडाइँले नेपालमा ती पुलिस खटाउने पन्चायतको अन्त्य भएरपनी देशमा संघीयता सहितको गणतन्त्र स्थापनामात्र होइन, विधि मै अगाडि बढी सकेको छ।
गणतन्त्र र संघीयता नागरिकको अधिकार र पहुँचलाई विकेन्द्रीकरण गर्दै जनताको सबै प्रकारको अधिकार सुनिस्चित हुनेगरी जनतालाई समान, समानुपातिक, समावेशी तथा जनता नै जनताको शासक हुन् भन्ने प्रत्याभूती दिनलाई आएको भनियो। जहाँ धर्म, जाती वर्ग र लिंगको आधारमा कुनै असमानता भन्ने नै हुँदैन भनेर हामीलाई भनियो। धर्म जात र वर्णको आधारमा कुनै विभेद नहुने तन्त्रको नाम गणतन्त्र भनियो।

कुनै दिन मस्जिद बनाउन नपाउने देशमा परिवर्तन सँगै प्रजातन्त्रले हामीलाई खुलेर धर्मकर्म गर्न पाउने युग दियो। समयक्रम चल्दै गयो आन्दोलनका नयाँनयाँ रुप र मुद्दाहरु थपिंदै गए । हामीले अब पर्वलाई राष्ट्रप्रती समर्पण गर्दै मनाउनन पाउने भयौं। हाम्रा ईद बक्रईद, तथा पर्वहरुले राष्ट्रिय मान्यता पायो। दशैंमा रमाउनेहरु, ल्होसार, छटमा रमाउनेहरु अब दशैं मात्र होइन, छट र ल्होसारमात्र होइन सबै नेपालीले सबै पर्वहरुलाई राष्ट्रिय पर्वको रुपमा मनाउने युग र सभ्यताको आगमन भयो। हामीलाई लाग्यो हो अब देशमा हुकुमी होइन निरपेक्षित शासन चल्न थाल्यो।

सबै नेपाली सबैका लागि, सबै नेपाली नेपालका लागि भन्ने अनुभूति बढेर आयो।
शव्दले भरिएको संविधानमा सबै उल्लेख भए। के राजा के रैती सबै समान भन्ने मनोभावनाको बिकास हुँदै जाँदा संघीय लोकतान्त्रिक गणतन्त्रको संथागत गतिशीलताको लागि घरदेखी सिंहदरबारमा जनताले चुनेर जनतालाई शासन व्यबस्था सुम्पिए। नेपालको इतिहासमै विकेन्द्रीकृत र सशक्त सरकार बन्यो। हामीलाई लाग्यो अब बाँकी अधुरा सपनापनि पूरा हुने युगको आगमन हुँदैछ। के धर्म के पर्व सबैथोक समानताको थोकमा हामीले प्राप्त गर्दै जानेछौं। तर त्यो सब मित्थ्या भयो।

राज्यले ईदलाई राष्ट्रिय पर्व मान्दा गाउँमा मुस्लिम नानीबाबुहरु रोएको सम्झना छ अनि विध्यालय  सन्चालन गर्ने विध्यालयका विरुद्द हामीले चक्काजाम नै गरेर प्राप्त अधिकारको रक्षामा सडकमा उत्रेको त्यो दिन अहिलेपनि मलाई सम्झना छ।विध्यालयले वार्षिक क्यालेन्डर बनाएर आगामी दिनमा राज्यद्वारा घोषणा गरेको पर्वलाई मनाउने प्रशासनको रोहवरमा गरेको सम्झौतापनि सम्झना छ।

तर आज हाम्रोलागी परिवर्तनको युग गतिशिल भएको मित्थ्या लाग्दैछ। हाम्रा पर्वहरु अब राष्ट्रिय रहेनन्। न अब कुनै विध्यालय बन्द हुनेछन्। न अब कुनै सरकारी निकायमा ईदले प्रवेश पाउने छ। हो, मुस्लिमहरुले भने नि:सन्देह आफ्नो पर्व सुटुक्क मनाउन पाउने छन। बिधार्थी पर्वको दिनमा विध्यालय जानू पर्ने छैन, तर विध्यालयमा पढाइ भने हुने छ, राज्यका निकायहरु खुला रहनेछन्, तर मुस्लिम कर्मचारी नगएमा खतबात लाग्ने छैन।

पर्वको दिन पढाइएको विषयहरु, पर्वमा गरिएका सरकारी कामहरु अब मुसलमानले अर्को दिन भर्पाई गर्नु पर्ने छ।
परिक्षाको कुरा नगरौं त्यो गहिरो छ। भावनाको कुरा गरौं, निरपेक्षता, समानता र समावेशिताको कुरा गरौं। नेपाली मुस्लिम र उनीहरुका संघर्ष र मान्यताका कुरा नगरौं। किनकी सम्वृद्दिको लागि हामीले पुरानो युगमा फर्किनु पर्दछ। देश बनाउनु पर्छ पर्व किन मनाउनु? अधिकार भनेको केवल एउटा खोस्टोमात्र हो।

हामी मुस्लिम हौं, हामी अछुत रहनु पर्दछ।
हामी केवल मुसलमान हौं कसरी हामी नेपाली हुन सक्छौं र हामीले मान्ने पर्वलाई सारा देशले मनाउने? हो दशैं भने हामीले मनाउनु पर्छ, ल्होसार छट र अन्य अन्य पर्वलाई मनाउन चुक्नु हुँदैन। यहि हाम्रो औकात हो। हाम्रा लागी हाम्रो नाममा राजनिती गर्नेहरुलाई तलब मिलेकै छ, सुविधा पाएका छन्, माननीयको जलप लागेकै छ। मुस्लिम नेता बन्न पाएकै छन्।

#लेखक  नेपाल पत्रकार महासंघ, क़तार शाखाको अध्यक्ष हुन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *