अनियमितताको आरोप लगाउनेलाई प्रमाणित गर्न धुर्मुसको चुनौती, भने, ‘प्रमाणित भएको एकदिन पनि धर्तिमा रहन्नँ’

सामाजिक गतिविधि

काठमाडौं- वीर अस्पताल सरसफाइ र रंगरोगनमा सक्रिय सीताराम कट्टेल धुर्मुसले अनियमितताको आरोप लगाउनेलाई प्रमाणित गर्न चुनौती दिएका छन् । वीर अस्पतालको रंगरोगनका विषयमा जानकारी दिन आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रमाणित भए आफू जुनसुकै सजाय भोग्न तयार रहेको बताएका छन् ।

उनले भने, ‘यदि एक रुपैयाँ तलमाथि गरेको प्रमाणित भए त्यसको एक दिन पनि म यो धर्तिमा एक रहन्न ।’ उनी आफू कलाकारितामा समेत सफल रहँदै गर्दा अपजश आउने सामाजिक कार्यमा सहभागी हुने चुनौती मोलेको बताए । उनले भने, ‘पेशा त्यागेर राष्ट्रका लागि काम गरिरहेका छौं । युवा पुस्तालाई हाम्रो देश हामीले नै बनाउनुपर्छ भनेर हौस्याइरहेका छौं । यसलाई जसले जसरी बुझे पनि हुन्छ । हाम्रा पाइला रोकिदैनन् ।’

वीर अस्पताल रंगरोगन गरिरहँदा अस्पतालको नाममा चन्दा उठाएको आरोपको खण्डन गरे । उनले भने, ‘वीर अस्पतालका नाममा चन्दा उठाएका छैनौं । हामीले वीर अस्पताल सफा गरिरहेका छौं । यो अभियानमा जोडिन चाहनेको सहयोग लिइरहेका छौं ।’

उनले स्वस्फुर्त सहयोग गर्नेहरुबाट हालसम्म १४ लाख ६४ हजार ८ सय ३५ रुपैयाँ संकलन भएको बताए । आफूले ८२ जना पेन्टरको नेतृत्व गरेर रातदिन खटेर काम गरिरहेको अवगत गराए । उनले हालसम्म ४८ लाख ६४ हजार १ सय ४४ बराबरको काम गरिसकेको जानकारी गराए।

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले वैशाख २३ गते वीर अस्पतालबाट देशव्यापी सरकारी अस्पताल सरसफाई अभियानको घोषणा गरेकी थिइन् । उक्त अभियानमा धुर्मुस सुन्तली, खेम्स क्लिनिङका खेम शर्मालगायतका अभियान्ता जोडिएका छन् ।

भित्री सुधार थाल्ने राज्यमन्त्री अर्यालको घोषणा
स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले आफूले थालेको सरसफाई अभियानलाई सफल तुल्याउन सघाउने धुर्मुस र खेम शर्माको प्रशंसा गरेकी छिन् । वीरको आवरण सफा हुँदै गएको बताउँदै भित्री रुप (प्रणाली) पनि परिवर्तन गर्नुपर्ने संकेत गरेकी छिन् ।

अवको १५ दिनमा वीर अस्पताल सफा र सुन्दर देखिने बताउँदै त्यही अवस्था देशभरका अस्पतालको देख्न चाहेको जनाइन् । उनले भनिन्, ‘वीर अस्पताल हाम्रो सुरुवात हो । हामी यसलाई विचमै छाड्दैनौं । देशव्यापी बनाउँछौं ।’

उनले अस्पतालको प्रणाली सुधार पनि थालिने जानकारी दिइन् । सरकारी अस्पतालमा सेवा प्रवाहमा रहेका बेथितीलाई पनि यसैगरी सुधार्नुपर्ने उनको धारणा थियो । उनले थपिन्, ‘अस्पतालको भित्री कुरामा समेत सुधार गरेर जनतालाई अनुभूत हुने गरी सुधार ल्याउँछौं ।’

१२८ वर्ष पुरानो वीरको संरचना बदल्न नसकिएपनि प्रणाली सुधार अवश्य गर्न सकिने उनी बताउँछिन् । वीरलाई डिजिटल प्रणालीमा लैजाने तयारी पनि आफूले गरेको उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *